भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता
ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको जनाको खोजी कार्य जारी छ ।
सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य जारी छ ।
बेपत्ता भएकामध्ये अन्य जिल्ला स्थायी ठेगाना भएर ललितपुर बस्ने ९९ जना छन् । जसमा ८१ पुरुष, १७ महिला र एक बालक छन् । बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक हराइरहेका छन् । बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक छन् । जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन् ।
यस्तै बाढीमा परी घाइते भएका २४ जना (२० पुरुष, तीन महिला र एक बालिका)मध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । एक जना पुरुषको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक महिला र एक पुरुष) को शव परिवारको जिम्मा लगाइएको प्रजिअ घिमिरेले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्