तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूला बेलिब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभएको छ । साथै उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिनुभयो ।

राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी  सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

उहाँले आफूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति  अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो । सो अवसरमा मन्त्री द्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो । यसैगरी मन्त्रीहरूले वैकल्पिक सडक निर्माण कार्यलाई सरकारले तीव्रता दिएको र लामो लामो बेली ब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा ती सामाग्रीहरू आउने क्रममा रहेको  र अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button