भोटेकोशी बाढी: सोलुखुम्बुका १० जना बेपत्ताका आफन्तबाट डीएनए नमुना सङ्कलन
सोलुखुम्ब। भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।
बाढीपछि आफन्तजन फेला नपरी हराइरहेका तथा हालसम्म सम्पर्कमा नआएका नागरिकको पहिचान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा उपस्थित भएका आफन्तजनबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाका अनुसार भोटेकोशी बाढीपछि फेला परेका शव, शरीरका कुनै अङ्ग वा भागको पहिचान तथा एकिन गर्न सहयोग पुर्याउने उद्देश्यले हराइरहेका व्यक्तिका आफन्तबाट नमुना लिइएको हो । उहाँका अनुसार बाढीमा हराइरहेका व्यक्तिको पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणबाट शव वा शरीरका अङ्ग–भाग आफन्तसँग मिलान गरी पहिचान गर्न सकिनेछ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि विभिन्न स्थानमा शव तथा शरीरका अङ्गहरू फेला पर्ने क्रम जारी रहेकाले पहिचानका लागि डीएनए परीक्षणलाई महत्वपूर्ण आधारका रूपमा लिइएको प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट हराइरहेका व्यक्तिका आफन्तको नमुना सङ्कलन गरी आवश्यक परीक्षण तथा अभिलेख व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्