तपाईँ सुन्दै हुनुहुन्छः

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवङ्गत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल उद्धारको कामना गरिएको हो ।

नेपाल सरकारले भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवङ्गत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकका साथै कर्तव्यपालनको सिलसिलामा दिवङ्गत हुनुभएका नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । बेपत्ताको सकुशल उद्धारको कामनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक कार्कीले आजै अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान र समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानका बारेमा वृत्तचित्रमार्फत प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

इन्टरनेसनल डे अफ पोलिस कर्पोरेसनले हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु यस दिवसको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत व्यक्तिको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button