तपाईँ सुन्दै हुनुहुन्छः

देवीघाटस्थित तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान सुरु, निर्माणको जिम्मा नेपाली सेनालाई

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकास्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज (Acrow Bridge) जडानको कार्य सुरु भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण तादी खोलामा रहेको पक्की पुल बगेपछि सो क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। बाढीले क्षति पुर्‍याएको पुरानै पुलको अबुटमेन्ट (आधारस्तम्भ) लाई प्रयोग गर्दै नयाँ एक्रो ब्रिज निर्माण अघि बढाइएको हो।  

भत्किएको सडक र पुलका कारण स्थानीयको आवागमन र ढुवानीमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले पुल जडानको नेतृत्व लिएको छ। निर्माणका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन सेना स्वयंले गरेको छ भने प्राविधिक तथा निर्माण सम्बन्धी सम्पूर्ण कार्य पनि सेनाकै टोलीले गरिरहेको छ।  

एक्रो ब्रिजको जडान सम्पन्न भएसँगै नुवाकोट र वरपरका बाढी प्रभावित क्षेत्रमा यातायात सेवा पुनः सञ्चालनमा आउने र सर्वसाधारणको दैनिकी सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button