काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग
काभ्रेपलाञ्चोक । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले रु एक करोडभन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित राजनीतिक दल, सङ्घसंस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन् ।
बेथानचोक गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । रसुवा बाढीमा यस गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन् ।
यसैगरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलन भएको रकममा थप गरी रु ३० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । बनेपा नगरले रु १५ लाख, पाँचखाल र धुलिखेल नगरपालिका, रोशी र चौँरीदेउराली गाउँपालिकाले रु १०र१० लाख रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले केन्द्रीय समितिमार्फत सरकारलाई सहयोग गर्ने उद्देश्यले रु १७ लाख ६६ हजार बुझाएको छ । यस्तै सामुदायिक सहकारी पनौतीले रु पाँच लाख, बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले रु पाँच लाख तथा चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार, मनकामना सहकारीले रु एक लाख ५० हजार दिने निर्णय गरेका छन् ।
भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३९ जना काभ्रेपलान्चोकका नागरिक अझै सम्पर्कविहीन भएका जानकारी आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीनमध्ये आठ जना परिवारको सम्पर्कमा आइसकेका छन् । रासस







प्रतिक्रिया राख्नुहोस्