मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको आज निरीक्षण गर्नुभएको छ ।
गत साउन अन्तिम साता मोदी खोलाको बाढीले ठाउँठाउँमा कटान गर्दा यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । यसबाट अन्नपूर्णका चार वडा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका छन् ।
बाढीले अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा १०० मिटर पक्की कालोपत्रे सडक बगाएको छ भने बस्ती जोखिममा परेको छ । सो स्थानमा अहिले प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा सडक मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।
सडकको अवस्था, भइरहेको मर्मतको प्रगति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले सडक छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
“अवरुद्ध सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याएर स्थानीयवासीको आवागमन सहज बनाउने गरी काम भइरहेको छ । प्रदेश सरकारलगायत निकायको निरन्तरको प्रयास र सहकार्यबाट सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
मोदी बाढीले सबैभन्दा बढी प्रभावित बनाएको बिरेठाँटी तथा चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पुर्याएको छ । चिम्रुङ तमु चोक स्याउली बजार सडक खण्डमा पनि अहिले वैकल्पिक ट्र्याक खन्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधिसमेत प्रभावित बनेका छन् । सडक पुनःनिर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गरेको र गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडकको पुनःनिर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराएको छ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराएको छ ।
बिरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ । पर्यटकीय मौसम आउनै लाग्दा सडक अवरुद्ध भएपछि पर्यटन क्षेत्र सुस्ताएको छ भने स्थानीयवासीको समेत दैनिकी प्रभावित बनेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्