तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्रमा सडक मर्मत जारी, तादीमा बेलिब्रिज राखिने

काठमाडौँ । सरकारले बाढीका कारण क्षतिग्रस्त सडकको मर्मत सुरु गरेको जनाएको छ । सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार गल्छी–बेत्रावती–रसुवागढी सडक, पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्ड क्षति भएका थिए । जसमध्ये गल्छी–बेत्रावती–रसुवागढी सडकको ८२ किमीमध्ये बिदुर–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ५६ किमीमा क्षति भएको र त्यसमध्ये ४० किमी पूर्ण रूपमा ध्वस्त भएको उहाँको भनाइ छ ।

साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर क्षेत्रमा क्षति पुगेको थियो । बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । जसमध्ये २० वटा निर्माण गर्न मिल्ने र २८ वटाको पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । हाल पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्ड लेदो हटाई यातायात सञ्चालन भइसकेको छ ।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार गल्छी–बेत्रावती सडकको गल्छी–देवीघाट खण्ड लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ । तादी देविघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ । बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्ने सम्भव देखिएको काम सुरु भएको छ । हाल सडक निर्माण र मर्मतका लागि ५० जना प्राविधिक कर्मचारी कार्यरत हुनुहुन्छ ।

सडक बोर्डअन्तर्गत आपतकालीन रूपमा रु ती करोड २५ लाख विनियोजन गरेको छ । अन्य आवश्यक रकम योजनाअन्तर्गत विनियोजित बजेटबाट खर्च गर्नेगरी सहमति दिइएको छ । क्षतिग्रस्त ठाउँको हेलिकप्टर र पैदलमार्फत विवरण सङ्कलन भइरहेको छ । प्रभावित क्षेत्रमा ३१ वटा पुल बगेका छन् । हाल तीमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ भने थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ । बाढीका कारण क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्र मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button