भोटेकोशी बाढीपीडितका लागि बाँकेका मुस्लिम धार्मिक स्थलबाट ४ लाख २३ हजार सहयोग
बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेका मुस्लिम धार्मिक स्थल तथा मुस्लिम समुदायले रु. ४ लाख २३ हजार ५ सय १० सहयोग गरेका छन् ।

विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले बाँकेका विभिन्न मस्जिद, धर्मगुरु, नमाजी तथा स्थानीय मुस्लिम समुदायबाट स्वस्फूर्त रूपमा सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यसै गरि आज सोमबार ओलमा फाउन्डेसन नेपाल, बाँकेको पहलमा सङ्कलित रु. १ लाख ५८ हजार २ सय ३६ को भौचर फाउन्डेसनका अध्यक्ष मौलाना नसरुद्दीन अन्सारीले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गर्नुभयो ।
भौचर हस्तान्तरण कार्यक्रममा अध्यक्ष अन्सारीले विपद्मा परेका नागरिकको पीडामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तलब तथा स्थानीय मुस्लिम समुदायको सहयोगमा रकम सङ्कलन गरिएको बताउनुभयो ।
कार्यक्रममा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले विपद्को कठिन घडीमा राजनीतिक, धार्मिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर मानवीय भावनाका साथ पीडित नागरिकको साथमा उभिनुपर्ने बताउनुभयो । विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट स्वस्फूर्त रूपमा भइरहेको सहयोगले विपद्मा परेका नागरिकको पीडामा राहत पुर्याउने काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
सहयोग रकमको भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुस्लिम समुदायबाट प्राप्त सहयोगको प्रशंसा गर्दै विपद्को समयमा गरिएको मानवीय सहयोगको महत्व ठूलो हुने बताउनुभयो ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि देशका विभिन्न स्थानमा व्यक्तिगत, संस्थागत तथा सामुदायिक रूपमा सहयोग जुटिरहेका बेला बाँकेका मस्जिद तथा मुस्लिम समुदायबाट गरिएको सहयोगले विपद्को समयमा धार्मिक सद्भाव, सामाजिक एकता र मानवीय सहकार्यको सकारात्मक सन्देश दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्