तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने बाली प्रशोधन तथा बजारीकरणका लागि खाद्य उद्योग सञ्चालन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कृषकबाट रैथाने बाली खरिद गरी प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले ‘वातावरण खाद्य उद्योग’ सञ्चालनमा आएको छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले दुई करोड लगानी लक्ष्यसहित आजदेखि विधिवत् रूपले खाद्य उद्योग सञ्चालनमा ल्याएको हो । 

हाल एक करोड २५ लाख लगानी रहेको कुटानी, पिसानी खाद्य उद्योगबाट उत्पादित वस्तु जिल्ला बाहिर निर्यात गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँले कर्णालीका कृषकले उत्पादन गरेका रैथाने बाली (कोदो, फापर, जौ, चिनो, कागुनो) को प्रवद्र्धन गर्न आधुनिक कुटानी–पिसानी उद्योग सञ्चालनमा ल्याइएको जनाउनुभयो । 

उपभोक्ताको मागलाई ध्यानमा राखेर आधुनिक मेसिनरीबाट प्रशोधन गरी रैथाने उत्पादनको बजारीकरण गर्न सहयोग विश्वासका साथ उद्योग सञ्चालनमा ल्याइएको बताउँदै उहाँले अटोमेटिक सिस्टमबाट सञ्चालित चामल कुट्ने, तेल पेल्ने र विभिन्न अन्नबाली पिसानी गर्ने छुट्टाछुट्टै मेसिन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै लगानी थपेर कानूनी प्रक्रिया पुरा गरी आफ्नै प्याकेजिङ्ग, लेवलिङ्ग सहितको कर्णालीका रैथाने बालीहरूको उत्पादन विदेशसम्म पुर्‍याउने लक्ष्य छ । 

सहकारीका व्यवस्थापक श्याम न्यौपानेले उद्योग सञ्चालनमा आएसँगै स्थानीय उत्पादनका बस्तुले बजार पाएपछि ग्रामीण अर्थतन्त्रमा सानो भएपनि योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

उद्योग निर्माणका लागि हालसम्म करिब १ करोड २५ लाख रुपैयाँ लगानी गरिए पनि पूर्वाधार निर्माण कार्य चलिरहेकाले दुई करोडसम्म लगानी पुग्ने उहाँको भनाइ छ । 

उद्योगको उद्घाटन गर्दै सहकारीका सल्लाहकार तथा प्रसिद्ध समाजसेवी कमलराज रेग्मीले स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्य वस्तुलाई व्यावसायिक रुपमा प्रवर्द्धन गरी कृषकको आय आर्जनमा प्रत्यक्ष टेवा पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले खासगरी शेयर सदस्यहरुले उत्पादन गरेका रैथाने बालीहरूको प्रवर्द्धन तथा बजारीकरण गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button