तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिनुभएको छ । 

सरकारले बाढी प्रभावित जिल्लाहरूमा सङ्क्रामक रोगहरू फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा भेटिएका शवहरू सङ्कलन भए पनि मरेका पशु चौपायाको व्यवस्थापन हुन नसक्दा अब ती कुहिन थाल्ने र त्यसबाट दुर्गन्ध तथा सङ्क्रामक रोग फैलन सक्ने सम्भावना बढ्दै गएको छ । 

बाढीका कारण सङ्कलन गरिएका शवहरूको संख्या अस्पतालहरूको मौजुदा क्षमताभन्दा धेरै भएकाले सुरक्षित भण्डारणको अभावमा शवहरू सड्न थालेका छन् । यसले गर्दा प्रभावित क्षेत्र तथा अस्पताल आसपासमा दुर्गन्ध र महामारी फैलिन सक्ने जोखिम बढेको छ भने प्रभावितहरूलाई राखिएका होल्डिङ सेन्टर वरपरका पानीका मुहानहरू फोहोर हुँदा र सरसफाइको कमीले थप सङ्क्रामक रोगहरू फैलिन सक्ने देखिन्छ ।

यद्यपि, सरकारले बाढी प्रभावित जिल्लाहरूमा हुन सक्ने स्वास्थ्य सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने, अस्थायी रुपमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीका साथै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

उहाँले बाढीले हाम्रो वरपर र खानेपानीका मुहानहरूको नजिक मानिसका शवहरू तथा पशु चौपायालगायतका वस्तुहरू ल्याएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

यस्तै“होल्डिङ सेन्टरमा राखिएका प्रभावितहरूमध्ये दीर्घरोगी, गर्भवती तथा सुत्केरी र बालबालिकाहरूलाई लगाउनुपर्ने नियमित खोप लगायतका औषधी सम्बन्धी सेवा निरन्तर प्रवाह गरिरहेको पनि मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी जानकारी दिनुभयो ।”

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ ।

प्रभावित क्षेत्रमा दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन् । बाढीको पानी र त्यसपछि जम्मा भएको फोहर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढी हुने हुँदा विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुन सक्ने देखिन्छ । सङ्कलन गरिएका शवहरू समय बित्दै जाँदा कुहिने सम्भावना अत्यधिक रहने भएकाले  त्यसबाट सङ्क्रमणको जोखिम थप बढ्न सक्ने हुँदा यसतर्फ सरकार र सरोकारवाला सबैले समयमै विशेष ध्यान दिनुपर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “गर्मीको समय भएकाले शव व्यवस्थापनमा ढिलाइ हुँदा त्यसबाट निस्कने दुर्गन्धले वातावरणमा प्रदूषण फैलने र सङ्क्रामक रोगहरू लाग्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्छ, यस कार्यमा सरकारसँगै नीजि संस्था र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहन्छ ।”

बाढीका कारण यतिबेला कयौँ मानिसहरू शारीरिक मात्र नभई मानसिकरुपमा समेत स्वास्थ्य समस्यामा परेका छन् । प्राकृतिक प्रकोप कुन बेला र कसरी आउँछ भन्ने थाहा हुँदैन र रोक्न सकिने कुरा पनि मानिसको हातमा हुँदैन । तर, त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने सावधानी र प्रभावकारी व्यवस्थापनबाट धेरै हदसम्म कम गर्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button