‘पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा अझ बढी सहयोग आवश्यक’
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ ।
परराष्ट्र मन्त्रालयको शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कनको काम भइरहेको जानकारी दिनुभयो ।

बाढीबाट भएको क्षतिको मूल्याङ्कनको काम पूरा भएपछि मात्रै पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने परराष्ट्र मन्त्रीले बताउनुभयो ।
विपद्पछि उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको र चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको मन्त्री खनालले बताउनुभयो ।
मन्त्री खनालले आजसम्म प्रभावित क्षेत्रबाट १८७ भन्दा बढी विदेशी नागरिकसहित ४ हजार ४सय ५१ भन्दा बढी मानिसको उद्धार गरिएको, ६२६ जनाको शव सङ्कलन गरिएको र करिब २,४०० जना अझै बेपत्ता रहेको जानकारी दिनुभयो ।
मन्त्री खनालले उद्धार तथा खोजी कार्य जारी रहेकाले हताहत, बेपत्ता व्यक्ति र क्षतिको आँकडा परिमार्जन हुन सक्छ भन्दै नेपाल सरकार सर्वसाधारण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई आधिकारिक रूपमा पुष्टि भएका सूचनामा मात्रै विश्वास गर्न र अपुष्ट प्रतिवेदनहरू प्रकाशन वा प्रसारण नगर्न अपिल गर्नुभयो ।
बाढीका कारण धेरै विदेशी नागरिकहरू पनि बेपत्ता भएकाले मन्त्रालयमा एउटा छुट्टै आपतकालीन नियन्त्रण कक्ष (इमरजेन्सी कन्ट्रोल रुम) स्थापना गरिएको समेत पत्रकार सम्मेलनमा मन्त्री खनालले बताउनुभयो ।
मन्त्री खनालले हाम्रा सुरक्षा निकाय र अन्य टोलीहरूले स्थिति प्रभावकारी रूपमा सम्हालिरहेको भए पनि उद्धार कार्य जारी रहँदा हामीले हाम्रा मित्र राष्ट्रहरूबाट समेत विशिष्ट तथा विशेष सहयोगको अनुरोध गरेको बताउनुभयो ।
त्यस्तो विज्ञ टिमले मानिसहरू थुनिएका सुरुङ खोल्ने, प्रभावित क्षेत्रमा जीवित मानिसहरूको खोजी गर्ने प्रविधि, द्रुत फरेन्सिक तथा डिएनए परीक्षण र शव राख्नका लागि शव गृह जस्ता क्षेत्रमा हाम्रा प्रयासहरूलाई थप सुदृढ बनाउन सहयोग गर्ने मन्त्री खनालको भनाइ थियो ।
‘सुरुङ उद्धारका लागि भारतबाट ११ सदस्यीय विशेषज्ञ प्राविधिक टोली परिचालन भइसकेको छ भने चीनबाट सुरुङ उद्धार टोली चाँडै आइपुग्ने अपेक्षा गरिएको छ’ मन्त्री खनालले भन्नुभयो ।
‘प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता उपलब्ध गराइँदै छ । यस कठिन समयमा देखाउनुभएको ऐक्यबद्धता, सद्भाव र सहयोगका लागि हामी हाम्रा मित्रहरू र साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । भारतबाट हामीले ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त गरिसकेका छौँ । चीन, जापान, अस्ट्रेलिया र अन्य मुलुकहरूबाट पनि अत्यावश्यक सामग्रीहरू प्राप्त भइरहेका छन् ।’
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गर्यो भन्ने खालका केही असत्य समाचारहरू राष्ट्रिय तथा विदेशी सञ्चार माध्यममा फैलिएको पाइएको भन्दै उद्धार तथा राहतको चरणमा मात्र नभई पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा अझ बढी सहयोग आवश्यक हुने बताउनुभयो ।
उहाँले विशेष गरी अन्तर्राष्ट्रिय समुदाय र नेपाल भ्रमणको योजना बनाइरहनु भएकाहरूलाई नेपालका अधिकांश पर्यटकीय गन्तव्यहरू काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन, जनकपुर वा अन्नपूर्ण र सगरमाथा क्षेत्र लगायतका हिमाली भेगहरू खुला रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्