तपाईँ सुन्दै हुनुहुन्छः

ग्यासको अभाव देखिएपछि धनकुटामा छड्के अनुगमन

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ । 

धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । 

सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले धनकुटा बजारका आधा दर्जन ग्यास डिलरको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकता अनुसार ग्यास नआएको बताएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले समेत आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको न्यौपानेको भनाइ छ ।

अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एकटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलरलाई निर्देशन दिएको छ । ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न समेत डिलरलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ । डिलरबाट सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नुपरेको गुनासो समेत आएको त्यसपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो । बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने धनकुटा प्रशासनले जनाएको छ ।

यता डिलर सञ्चालकहरूका अनुसार कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको हो । कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिरहेको तर, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको कोशी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राई बताउनुभयो । रिजाल ग्यासका विक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण समस्या भएको बताउनुभयो । उहाँका अनुसार कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा आएको ग्यासले सबैलाई पुर्‍याउन कठिन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button