पहाडमा पनि फस्टायो व्यावसायिक ओल खेती
पर्वतका भरत श्रेष्ठको सफलताले किसान उत्साहित

पर्वत । पहाडी जिल्लामा व्यावसायिक रूपमा ओल खेती सम्भव छैन भन्ने बुझाइलाई फलेवास नगरपालिकाका किसान भरतकुमार श्रेष्ठले व्यवहारमै गलत सावित गरिदिनुभएको छ ।
तराईका जिल्लामा मात्र व्यावसायिक रूपमा उत्पादन हुने ओल अहिले पर्वतको फलेवासमा राम्रोसँग फस्टाएको छ । थोरै लगानी, राम्रो बजार र आकर्षक आम्दानीका कारण श्रेष्ठले सुरु गर्नुभएको ओल खेती अहिले धेरै किसानका लागि प्रेरणाको विषय बनेको छ ।
दुई वर्ष अघि श्रेष्ठले सर्लाहीबाट ओलको बीउ ल्याएर परीक्षणका रूपमा खेती सुरु गर्नुभएको थियो । पहिलो वर्षमै उत्पादन र बजार दुवै उत्साहजनक भएपछि अहिले उहाँ यसको विस्तारमा जुट्नुभएको छ । गत वर्ष प्रतिकिलो १६० रुपैयाँका दरले ओल बिक्री गर्नुभएको उहाँले यस वर्ष २०० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने योजना बनाएको सुनाउनुहुन्छ । अहिले त धेरै उपभोक्ताले फोनमार्फत नै ओलको माग गर्न थालेको उहाँको भनाई छ ।

श्रेष्ठका अनुसार ओल स्वादिष्ट मात्र होइन, स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक खाद्यवस्तु हो । रक्सी र मासुमा पैसा खर्च गरेर स्वास्थ्य बिगार्नुभन्दा ओलका परिकार बनाएर खानु राम्रो हुन्छ, उहाँ भन्नुहुन्छ, ‘यसले खाना पचाउन सहयोग गर्छ, पेट सफा राख्छ र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’
ओलबाट स्वादिलो अचार र गुन्द्रुक पनि बनाउन सकिने श्रेष्ठको अनुभव छ । उहाँले उत्पादन गरेको ओलको गुन्द्रुकको मूल्य प्रतिपाथी एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म पर्ने गरेको उहाँ बताउनुहुन्छ । फागुनमा लगाइएको ओल करिब सात महिनापछि असोजदेखि खान र बिक्री गर्न तयार हुने उहाँको भनाइ छ ।
हाल उहाँले करिब एक सय बोट ओल लगाउनुभएको छ । यस सिजनमा ७ सय किलोग्रामभन्दा बढी उत्पादन बिक्री गर्ने लक्ष्य रहेको श्रेष्ठ बताउनुहुन्छ । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले आगामी वर्ष खेतीको क्षेत्रफल अझ बढाउने तयारीमा रहेको बताउनुहुन्छ । ओलसँगै केरा खेती पनि गर्न सकिने भएकाले एउटै जमिनबाट बहुआयामिक लाभ लिन सकिने उहाँको अनुभव छ ।

यद्यपि खेतीमा चुनौती भने छैनन् भन्ने होइन । बाँदर, खरायो, मृग र दुम्सी जस्ता जङ्गली जनावरले बाली नोक्सान पुर्याउँदा किसानले ठूलो सास्ती खेप्नुपरेको श्रेष्ठको गुनासो छ । मेहनत गरेर लगाएको बाली जोगाउनै मुस्किल भएको बताउनुहुन्छ ।
फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीका अनुसार व्यावसायिक कृषि विस्तार गर्ने उद्देश्यले नगरपालिकाले ओल खेती गर्न चाहने कृषकलाई अनुदान र प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । स्थानीय तह र कृषि विकास कार्यालयले नयाँ सम्भावना बोकेका खेती प्रणालीलाई प्रोत्साहन गरिरहेको कृषि बिकास कार्यालयले जनाएको छ ।

पर्वतसहित गण्डकीका धेरै पहाडी जिल्लामा जङ्गली जनावरका कारण खेतीपाती नष्ट हुने समस्या पुरानै हो । उत्पादन बढाउन किसानले नयाँ अभ्यास थाले पनि बाली संरक्षणको प्रभावकारी व्यवस्था नहुँदा उनीहरूको उत्साहमा असर परेको देखिन्छ । कृषकहरू राज्यले जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै आएका छन् ।
भरत श्रेष्ठको प्रयासले एउटा सन्देश दिएको छ—“बाँझो जमिन जोतेर सम्भावना खोज्ने हो भने पहाडमा पनि नयाँ कृषि व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ ।” फलेवासबाट सुरु भएको व्यावसायिक ओल खेती अब पर्वतका अन्य किसानका लागि पनि नयाँ सम्भावनाको ढोका बन्न थालेको छ ।






प्रतिक्रिया राख्नुहोस्