बालसुधार गृहका ७३ बालकमा छाला रोग, मानसिक स्वास्थ्य समस्या पनि देखियो
नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ। भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसका अवसरमा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छालासम्बन्धी समस्या भेटिएको हो।
स्वास्थ्य टोलीका अनुसार परीक्षणका क्रममा १४ जनामा मेडिसिनसम्बन्धी, १२ जनामा नाक, कान तथा घाँटीसम्बन्धी, पाँच जनामा मानसिक स्वास्थ्यसम्बन्धी र चार जनामा दन्तसम्बन्धी समस्या पहिचान भएको छ। केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। थप उपचार आवश्यक देखिएका आठ बालकलाई भेरी अस्पतालमा रिफर गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि वितरण, मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श पनि प्रदान गरिएको थियो।
हाल २७३ बालक रहेको जयेन्दु बालसुधार गृहमा आयोजित शिविरले सरसफाइ, पोषण, खानेपानी, आवासीय व्यवस्थापन र नियमित स्वास्थ्य सेवामा थप सुधार आवश्यक रहेको संकेत गरेको चिकित्सकहरूको भनाइ छ।
छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता संक्रामक छाला रोग देखिएका छन्। एउटै स्थानमा धेरै बालक बसोबास गर्ने भएकाले व्यक्तिगत सरसफाइ, कपडा र ओछ्यानको स्वच्छता, नियमित नुहाउने व्यवस्था, पर्याप्त पानीको उपलब्धता तथा संक्रमित बालकको समयमै उपचारमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्लेका अनुसार केही बालकमा डिप्रेसन र एन्जाइटीका लक्षण देखिएका छन् भने एक बालकमा आत्महत्याको सोचसमेत पहिचान भएको छ। कानुनी विवाद, परिवारबाट टाढिनु, भविष्यप्रतिको अनिश्चितता र सामाजिक दृष्टिकोणले बालकहरूको मानसिक स्वास्थ्यमा असर परेको हुन सक्ने उहाँको भनाइ छ। त्यसैले नियमित मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य परीक्षण आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन्।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरीले केही बालकमा कान पाक्ने र सुनाइ कम हुने समस्या देखिएको जानकारी दिँदै समयमै उपचार नगरे दीर्घकालीन असर पर्न सक्ने बताउनुभयो। त्यस्तै, दन्त विशेषज्ञ डा. विवेक कुमार महतोले दाँतमा किरा लाग्ने, गिजा सुन्निने लगायत समस्या देखिएकाले नियमित दन्त परीक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बाँके जिल्ला अदालतसँग भएको सहमतिअनुसार अबदेखि बालसुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो। उहाँले बालसुधार गृह सजाय दिने स्थान नभई सुधार, संरक्षण र पुनर्स्थापनाको केन्द्र भएकाले बालकहरूको स्वास्थ्य सेवामा निरन्तर पहुँच सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बालसुधार गृहका प्रमुख किशोर शर्माले यस्ता विशेषज्ञ स्वास्थ्य सेवा नियमित सञ्चालन भए बालकहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। बालकहरूको तर्फबाट बोल्दै परिवर्तित नाम ‘कैलाली–७१, सुख्खड–४८’ ले नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो।






प्रतिक्रिया राख्नुहोस्