तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

जुम्ला। मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शुक्रबार बिहान पहिरो जाँदा घर पुरिँदा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका थप आठ घर उच्च जोखिममा परेका छन्।

प्रहरीका अनुसार साउन ९ गते बिहान करिब ४ बजे बजारमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको थियो। उक्त घरमा भाडामा बस्दै होटल व्यवसाय सञ्चालन गरिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।

घटनालगत्तै प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली तथा स्थानीयवासी उद्धारमा खटिएका थिए। पहिरोमा च्यापिएका बालक रमेश बडुवाललाई उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याइएको थियो। उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पहिरोमा परी सामान्य घाइते भएका जगनाथ बडुवाल र सृजना बडुवाल आफैँ स्वास्थ्य चौकी पुगेका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, लगातारको वर्षापछि पुलु बजारका थप आठ घर पहिरोको उच्च जोखिममा परेकाले स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button