तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको बर्षाले मध्यतराईका किसानमा आशा जगायो 

वीरगञ्ज । पछिल्लो एक हप्ता देखि निरन्तरको वर्षाले मध्यतराईका बारा,पर्सा,रौतहट लगायतका जिल्लाहरूमा धान रोपाइँले गति लिएको छ । 

असार बित्नै लाग्दा समेत धान रोप्न नपाएर निराश भएका किसानमा निरन्तरको बर्षाले नयाँ आशा जगाएको छ । 

वर्षाले आकाशे पानीमा निर्भर खेतमा समेत रोपाइँ सुरु भएको छ । अहिले आकाशे पानीको भरमा धानखेती गर्दै आएका किसानहरु खुशी भएका छन् । 

जिल्ला कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले साउन १ गते सम्म पर्सामा ६७ प्रतिशत भन्दा बढी क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको बताउनुभयो । 

गण्डक नहरको पानी असार १५ गते देखिनै आएको, भूमिगत सिँचाइको व्यवस्था, खोलामा बाँध बाँधेर निर्माण गरिएका कुलोबाट भएको सिँचाइ तथा आकाशे पानीले समेत पर्साको ग्रामिणक्षेत्रमा धान रोपाइँको वृद्धिदर बढेको थापाले बताउनुभयो । 

पर्सामा हालसम्म झण्डै धान खेती गरिँदै आएको  जमिन मध्ये ३३ हजार ५ सय हेक्टर भन्दाबढि क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । 

पर्सामा ५० हजार हेक्टर क्षेत्रफलमा बर्से धानखेती गरिँदै आएको छ । यस पटक पर्सामा असार १५ अगाडी नै १३ प्रतिशत भन्दाबढि क्षेत्रमा धान रोपाई सम्पन्न भएको र सिँचाइको सुविधा पुगेका पर्साको जगरनाथपुर, सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा रोपाई सम्पन्न हुने अवस्थामा पुगेको छ भने ठोरी गाउँपालिकामा ८० प्रतिशत भन्दाबढि धान रोपाई सम्पन्न भएको केन्द्रका सूचना अधिकारी थापाले बताउनुभयो । 

यसैगरी बारा र रौतहटमा समेत धमाधम धान रोपाई भइरहेको छ । 

दुई साता अगाडी खडेरी र पर्याप्त वर्षाको अभावले चिन्तित बनेका मधेसका किसानमा पछिल्लो एकसाता देखि भइरहेको वर्षाले नयाँ आशा जगाएको बारा कोल्हवीका किसान रामप्रसाद खनालले बताउनुभयो । 

यसअघि कुलो, नहर, पम्पसेट तथा मोटरबाट सिँचाइ हुने क्षेत्रमा मात्र धान रोपाइँ भइरहेको अवस्थामा वर्षाको अभावले आकाशे पानीमा निर्भर खेत बाँझै रहेका थिए । हाल भइरहेको वर्षाले बाँझो खेतमा समेत रोपाइँ सुरु गर्ने वातावरण बनेको किसान खनालले बताउनुभयो । 

रौतहट जुडिबेलाका किसान रामप्रवेश चौधरीले वर्षाले किसानको अनुहारमा खुसी फर्काएको बताउँदै अझ दुई–चार दिन राम्ररी वर्षा भएमा रोपाइँ हुन नसकेका अधिकांश खेतमा सहजै धान रोप्न सकिने दाबी गर्नुभयो । 

यो साताका जस्तै निरन्तर वर्षा भइरहेमा अबको हप्ता दिनमा बारा,पर्सा,रौतहट लगायतका जिल्लाहरूमा धान रोपाई सम्पन्न हुने कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत थापाले दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button