कर्णाली प्रदेशका चार मन्त्रीको राजीनामा स्वीकृत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
प्रदेश सरकार सञ्चालनको सत्ता साझेदार दल नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरूले दिनुभएको सामूहिक राजीनामा स्वीकृत गर्नुभएसँगै मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
सरकारमा सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले आज मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउनुभएको थियो ।
मुख्यमन्त्री कँडेलले चार जना मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नुहुँदै मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठनको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभयो ।
त्यस्तै, प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कँडेलको सचिवालयको सिफारिस पत्रानुसार मिति २०८०/१२/२७ गते गठित मौजुदा कर्णाली प्रदेश मन्त्रिपरिषद् नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलश्रोत तथा ऊर्जा विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफु मातहत राख्नुभएको छ ।
त्यस्तै, विनोदकुमार शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र गमता विक राज्यमन्त्री भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको प्रदेश प्रमुखको कार्यालयका सचिव तथा प्रवक्ता भीमराज थानीले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्