पर्वतमा पर्याप्त वर्षा नहुँदा ५० प्रतिशत खेत बाझैँ
पर्वत । साउन महिना सुरु हुन लागिसक्दा समेत पर्वत जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असार अन्तिमसम्ममा जम्मा ५० प्रतिशत धान रोपिएको छ, भने बाँकी ५० प्रतिशत धान खेती हुने जग्गा बाझैँ रहेको छ ।

गत वर्ष असारको अन्तिमसम्ममा करिब रोपाई हुने जग्गा केही मात्रामा बाँकी रहेको तथ्याङ्क रहेपनि यो वर्ष भने सो अनुसारको रोपाई हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष जिल्लाभर सात हजार १६०हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ । हालसम्म तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयकी कृषि प्राविधिक मनिषा कुमालका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुनु र केही स्थानमा धानको बिउको व्याडमा रोग देखिनुले रोपाइँ प्रभावित भएको छ । यही कारण गत वर्षको तुलनामा धान उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा प्रति हेक्टर २६ हजार आठ सय ३० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको कुमालले बताउनुभयो ।
जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रमध्ये कुश्मा नगरपालिकाका वडा न-९,१०, ११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा न-३, ६, ७ र ८, मोदी गाउँपालिकाका वडा न-२ र ५, जलजला गाउँपालिकाका वडा न-४, ६ र ७, महाशिला गाउँपालिकाका वडा न-२ र ५, विहादी गाउँपालिकाका वडा न-१, २ र ३ तथा पैयुँ गाउँपालिकाका वडा न-२, ४, ५ र ७ रहेका छन् ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा गुडुरा, पोखरेली जेठोबुढो, गौरिया, एक्ले, अनादी, विरफुली, उषा–३१२, च्याम्पियन र ६४४४ लगायतका धानका जातको खेती हुँदै आएको छ । आवश्यक वर्षा हुने हो भने बाँकी रहेको रोपाइँ साउनको दोस्रो साता सम्ममा पर्वतका सबै ठाउँमा सकिने प्रमुख लामिछानेको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्