बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असार १६ गते बिहान करिब ९ बजे टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा स्थानीय चार बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको थियो । घटनापछि बालबालिकामाथि भएको अमानवीय व्यवहारको सूचना प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा जितपुरसिमरा–१६ निवासी ६२ वर्षीया मिना राजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइबालाई असार १७ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रहरीले कुनै पनि आरोप वा शङ्काको आधारमा कानुन हातमा लिएर बालबालिकामाथि हिंसात्मक व्यवहार नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटना भए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्