रानीसैन क्षेत्रमा नियमित संयुक्त गस्ती: अवैध जडीबुटी निकासी रोकियो

बाजुरा।अपि सैपाल हिमालको बेसक्याम्प नजिकै रहेको बाजुराको पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण रानीसैन क्षेत्रमा चोरी-सिकारी र बहुमूल्य जडीबुटीको अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियमित संयुक्त गस्ती सुरु गरेका छन्।

हिमाली गाउँपालिका–३ लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएसँगै त्यसअन्तर्गत पर्ने रानीसैन क्षेत्रमा दैनिक रूपमा संयुक्त सुरक्षा निगरानी र गस्ती सञ्चालन भइरहेको हो।

लाम्पाटामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रसँगै रानीसैनका विभिन्न संवेदनशील स्थानमा नियमित गस्ती गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्वरी बोहराका अनुसार रानीसैन क्षेत्रमा चोरी–सिकारी, बहुमूल्य जडीबुटीको अवैध सङ्कलन तथा ओसारपसार रोकथाम गर्न सुरक्षा निकायले संयुक्त रूपमा निगरानी बढाएको हो। उहाँले सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्दै स्थानीयवासी र पर्यटकलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले नियमित गस्तीलाई निरन्तरता दिइएको बताउनुभयो।
रानीसैन क्षेत्र दुर्लभ वन्यजन्तु, बहुमूल्य जडीबुटी र प्राकृतिक सम्पदाले समृद्ध मानिन्छ। पछिल्ला वर्षहरूमा चोरी–सिकारी र अवैध जडीबुटी सङ्कलनका गतिविधि बढ्दै गएको गुनासो आएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको हो। प्रहरीका अनुसार संयुक्त गस्तीले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्नुका साथै प्राकृतिक सम्पदाको संरक्षण, अवैध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकमा सुरक्षा अनुभूति अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्