तपाईँ सुन्दै हुनुहुन्छः

भेनेजुएलालाई चीनको सहायता

बेइजिङ । शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ । 

दुई वटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सहायता भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माण अभियानलाई सहयोग गर्न प्रयोग गरिनेछ ।

गुओले राहत सामग्री सकेसम्म छिटो भेनेजुएला पठाइने बताउँदै प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र उद्धार कार्यलाई सहयोग पुर्‍याउन चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँले परिस्थितिअनुसार आगामी दिनमा पनि भेनेजुएलालाई थप सहयोग गर्न चीन तयार रहेको उल्लेख गर्नुभयो ।

यसअघि, चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै विपद्बाट प्रभावित जनताप्रति समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले चीनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैबीच, भूकम्पका कारण आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार टोलीहरू अझै प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा खटिएका छन् ।  रासस / एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button