‘निष्पक्ष पत्रकारिताले मात्र लोकतन्त्र बलियो हुन्छ’
जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिताले मात्र लोकतन्त्र बलियो हुने भएकाले निष्पक्ष रुपमा कलम चलाउन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभएको छ ।

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा धनुषाका पत्रकारहरूका लागि “विश्वसनीय,मर्यादित र व्यवसायीक पत्रकारिता प्रवद्र्धनका लागि आचार संहिता तथा भाषा र शैली” सम्बन्धि एक दिने अभिमुखीकरण सम्बन्धि कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले गलत सूचनाले समाजमा भ्रम सृजना गर्ने भएकाले जहिले पनि पत्रकारहरूले सत्य तथा यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्ने धारणा राख्नुभयो ।
सञ्चारमन्त्री महतोले प्रदेश सरकार स्वतन्त्र पत्रकारिताका लागि प्रतिबद्ध रहेको बताउँदै पत्रकारहरूको क्षमता विकासका लागि यस्ता प्रकारका अनुशिक्षण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले विगतमा पत्रकारहरूका लागि गरिएको दुर्घटना तथा स्वास्थ्य बिमाबाट मधेश प्रदेशका पत्रकारहरूले खासै लाभ लिन नसकेको कारणले उक्त कार्यक्रम स्थगित गर्नु परेको बताउँदै पत्रकारका लागि लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ लेखा समितिका संयोजक केसी लामिछानेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि गर्नुपर्ने लगानी गर्न नसकेको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले मधेश प्रदेश सरकारले आफै सञ्चार माध्यम खोलेर नीजि क्षेत्रका सञ्चार माध्यमलाई सखाप गर्ने नीति लिएकोमा बताउनुभयो ।
मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यालय प्रमुख ओम विक्रम कटुवालले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा बोल्नुभएको थियो ।
एक दिने अनुशिक्षणमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा तथा अनिल कर्णले सहभागी पत्रकारहरूलाई विभिन्न विषयमा अनुशिक्षण दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्