तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा नेपाली सेनाले भक्तजनहरूको लागि लाइन बस्ने बार (रेलिङ) निर्माण गरेको छ । नेपाली सेनाको गरुड दल गण चरिकोटले निर्माण गरेको रेलिङ मध्यपूर्व पृतनाको पृतनापति उपरथी भुवन खत्रीले शुक्रवार भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा उपरथी खत्रीले नागरिक– सैनिक सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने उद्देश्य अनुरुप नेपाली सेनाले देशको विभिन्न स्थानमा सामुदायिक आवश्यकताको पहिचान गर्दै सामुदायिक हितका कार्यहरू गर्दै आएको बताए ।

रथी खत्रीले नेपाली सेनाले शीघ्र प्रभावी योजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरू संरक्षण र सामुदायिक आवश्यकताका पूर्वाधार विकासमा समेत योगदान गर्दै आएको बताए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले भीमेश्वर मन्दिरको संरक्षण– संम्वद्धन र विकासको लागि नगरपालिकाले विभिन्न योजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै नेपाली सेनाले ऐतिहासिक सम्पदा संरक्षणमा गरेको योगदान महत्वपूर्ण रहेको बताए ।

नेपाली सेनाको गरुड दल गणले भीमेश्वर मन्दिर परिसरमा सात लाख ४० हजार बराबरको ८७ मिटर स्टील र ५० मिटर फलामको रेलिङ निर्माण गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताए । 

गरुड दल गणका गणपति कर्णेल लोकसागर कटुवालको सभापतित्वमा सम्पन्न रेलिङ उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, ९ नम्बर अड्डाका बाहिनिपति भुमिभट्ट बराल, प्रहरी नायव उपरीक्षक मनोज लामा, भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button