तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा असारको दोस्रो सातामा धानको रोपाई ४.३६ प्रतिशत

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दा पनि हालसम्म धानको रोपाई ४.३६ प्रतिशतले मात्र भएको छ ।

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदिप चौधरीले मधेश प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर भूमि मध्ये हिजोको मितिसम्ममा १६ हजार ७ सय ११ हेक्टरमा धान रोपाई भएको जानकारी दिनु भएको हो ।

कृषि ज्ञान केन्द्र पर्सा तथा रौतहटबाट धान रोपाइको विवरण प्राप्त नभएको निर्देशनालयले जानकारी दिँदै सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ । महोत्तरी जिल्लामा ३ हजार ३ सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । महोत्तरीमा धान खेती हुने कूल क्षेत्रफलको ८.१७ प्रतिशतले धान रोपाई भएको छ ।

यस पटक पटक पटक पानी परेपनि धानको बेर्ना पूर्ण रुपमा तयार नभएको कारणले धानको रोपाइले गति नदिएको मधेश प्रदेशका कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । जिल्लागत रुपमा सबै भन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ । सर्लाहीमा धान खेती हुने क्षेत्रफलको २.५ प्रतिशतले रोपाई भएको छ ।

सिरहा जिल्लामा धान खेती हुने क्षेत्रफल मध्ये ५ प्रतिशत अर्थात् २ हजार ७ सय हेक्टरमा धान रोपाई भएको छ । धनुषा जिल्लामा धान खेती हुने क्षेत्रफल मध्ये ३ हजार ५९ हेक्टर अर्थात् ७ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । यसै गरि सप्तरी जिल्लामा धान खेती हुने क्षेत्रफल मध्ये ३ हजार ४ सय हेक्टर अर्थात् ५ प्रतिशतमा धान रोपाई भएको छ ।

धान उत्पादनको दृष्टिकोणले अग्रणी प्रदेशको रुपमा मधेश प्रदेश भएपनि धानको रोपाई अपेक्षा अनुसार कम रहेको छ । असार १५ पछि धानको रोपाई बढ्ने अनुमान गरिएको छ । मधेश प्रदेशका जिल्लाहरूमा ढिलो गरि धानको रोपाई हुने चलन केही वर्ष देखि बढ्दै गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button