कलैयामा व्यावसायिक भैँसी वितरण सुरु, १४० कृषक परिवार लाभान्वित हुने
बारा । स्थानीय कृषकको आयआर्जन वृद्धि, दुग्ध उत्पादन विस्तार तथा ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यले कलैया उपमहानगरपालिकाले व्यावसायिक भैँसी वितरण तथा खोर सुधार कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।

राष्ट्रिय आयोजना आयोगको आर्थिक सहयोग तथा कलैया उपमहानगरपालिकाको समन्वयमा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नं. २६ का कृषकहरूलाई भैँसी हस्तान्तरण गरिएको हो।
शुक्रबार आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रोशन प्रविन तथा वडा नं. २६ का वडाध्यक्ष धर्मेन्द्र यादवले संयुक्त रूपमा कृषकहरूलाई भैँसी हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, कृषि तथा पशु सेवा शाखाका कर्मचारी, प्राविधिक तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत कुल १४० कृषक परिवारलाई उन्नत जातका भैँसी वितरण गर्ने लक्ष्य राखिएको छ। नगर प्रमुख बिनोद साहका अनुसार शुक्रबार १२५ वटा भैँसी सम्बन्धित कृषकलाई हस्तान्तरण गरिएको छ भने बाँकी १५ वटा भैँसी आगामी दुई दिनभित्र वितरण गरिनेछ।
भैँसी वितरणसँगै लाभग्राही कृषकलाई आधुनिक र व्यवस्थित गोठ निर्माण तथा पुराना गोठ सुधारका लागि आवश्यक सहयोग समेत उपलब्ध गराइने जनाइएको छ। यसबाट पशु पालनका लागि उपयुक्त वातावरण सिर्जना हुने, पशुको स्वास्थ्यमा सुधार आउने तथा दूध उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
भैँसी प्राप्त गरेका कृषकहरूले स्थानीय सरकारको पहलप्रति खुसी व्यक्त गर्दै यसले आफ्नो पशुपालन व्यवसाय विस्तार गर्न ठूलो टेवा पुग्ने बताएका छन्। उनीहरूका अनुसार आधुनिक गोठ निर्माण तथा प्राविधिक सहयोग प्राप्त भएपछि उत्पादन लागत घट्ने, पशुको स्वास्थ्यमा सुधार आउने र दूध उत्पादन वृद्धि भई आम्दानी बढ्ने विश्वास लिइएको छ।
विभिन्न चरणको छनोट प्रक्रियापछि भैँसी प्राप्त गरेका कृषकहरूले पारदर्शी रूपमा कार्यक्रम सञ्चालन गरेको भन्दै उपमहानगरपालिकाको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्ने मागसमेत गरेका छन्।
कलैया उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै बीउबिजन, कृषि यान्त्रिकीकरण, सिँचाइ, पशु स्वास्थ्य सेवा, अनुदान तथा उत्पादनमुखी विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्