तपाईँ सुन्दै हुनुहुन्छः

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने : आईएमओ

लन्डन । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) ले नयाँ   निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरूका लागि निकासी योजना घोषणा गरेको थियो ।

क्षेत्रीय देशहरू र उत्पादन उद्योगहरूसँगको समन्वयमा सञ्चालित अपरेसनले चलिरहेको सङ्कटबाट प्रभावित करिब ६०० वटा जहाजहरूमा सवार करिब ११ हजार चालक दलका सदस्यहरूको सुरक्षित प्रस्थानलाई सहज बनाउने अपेक्षा गरिएको डोमिंगेजले बताउनुभएको छ । 

निकासी बढाउन दैनिक जसो काम गरिरहेको उल्लेख गर्दै आगामी केही हप्ताहरूमा  अधिकांश जहाजहरू खाली गर्न सक्षम हुने आशा उहाँले व्यक्त गर्नु भएको छ ।

पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा धेरै रणनीतिक महत्व बोकेको समुद्री नाका मध्ये एक हो भने यसलाई विश्वव्यापी ऊर्जा व्यापारको मुख्य सिमानाको रुपमा लिने गरिन्छ । हालैको सङ्कटको अवस्थामा २० हजार भन्दा बढी चालक दलका सदस्यहरु होर्मुज वरपरको पानीमा फसेको तथा व्यापारिक जहाजहरूमा भएको आक्रमणले कम्तिमा १४ जनाको ज्यान गएको जनाइएको छ ।

उहाँले जटिल सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अपरेसन सावधानीपूर्वक र चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

वैकल्पिक जल मार्ग मध्यको उत्तरी भागमा इरान र दक्षिणी भागमा ओमानद्वारा सञ्चारित मार्गहरू मार्फत जहाजहरू निर्देशित भइरहेको जनाइएको छ भने । ओमान र आईएमओले संयुक्त रूपमा जारी गरेको सूचना यस हप्ताको सुरुमा लागु भएको जनाइएको छ । 

डोमिंगेजका अनुसार जहाजहरूलाई उनीहरूको निकासी आवश्यकता, तिनीहरू कति लामो समयदेखि फसेका छन्, र पर्सियन खाडीमा तिनीहरूको स्थान अनुसार ब्याचहरूमा समूहीकृत गरिएको छ, भने जलमार्ग पार गर्ने अनुमति दिनु अघि तोकिएको होल्डिङ क्षेत्रहरूमा अगाडि बढ्न निर्देशन दिइएको छ ।

समय परिस्थिति अनुसार जहाजहरूलाई सम्पर्क गरि स्वतन्त्र रुपमा जलमार्गको प्रयोगको लागि समन्वय गरिने डोमिंगेजले बताउनु भएको छ ।

आइएमओ प्रमुखले सङ्गठनले इरान र ओमान लगायत यस क्षेत्रका सबै तटीय राज्यहरू, साथै संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूसँग व्यापक परामर्शमा संलग्न भएको खुलासा गर्नु भएको छ ।

यी कोरिडोरहरू स्थापना गर्न आवश्यक सुरक्षा ग्यारेन्टीहरू प्राप्त गरेकोसमेत बताउनु भएको छ ।

 डोमिंगेजले संयुक्त राज्य अमेरिका र इरानबिच जारी कूटनीतिक सम्पर्कहरूको प्रशंसा गर्दै उनीहरूले तनाव कम गर्न मात्र नभई विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमा पारवहन पुनर्स्थापना गर्न पनि योगदान दिएको बताउनु भएको छ ।

डोमिङ्ग्युजले सङ्कटले एक पटक फेरि भूराजनीतिक द्वन्द्वमा फसेका चालक दलका सदस्यहरुले सामना गर्ने कठिनाइ र कमजोरीलाई उजागर गरेको बताउनुभएको छ ।

उहाँले विगत चार महिना देखि द्वन्द्वमा फसेका निर्दोष चालक तथा चालक दलका सदस्यहरूका लागि हानिकारक र  दुखद भएको बताउनु भएको छ । 

डोमिंगेजले सङ्कटका कारण सबै भन्दा बढी प्रभावित विश्वभरका चालकहरूले रातो सागरदेखि कालो सागर र अहिले स्ट्रेट अफ होर्मुजसम्म बढ्दो भूराजनीतिक तनावको परिणाम भोगिरहेको बताउनु भएको छ ।  

कुनै पनि भूराजनीतिक द्वन्द्वमा ढुवानीलाई बन्धकको रूपमा प्रयोग गरि निर्दोषहरूलाई दुःख दिन नहुने बताउँदै डोमिङ्ग्युजले चालक तथा चालक दलका सदस्यहरूको प्रशिक्षण र सुरक्षासँग सम्बन्धित सवालहरू विश्वमा प्रमुख विषय भएको बताउनु भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button