उदयपुरका आठ पालिकाको ६ अर्ब ६० करोडभन्दा बढीको बजेट सार्वजनिक
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सुशासनमा केन्द्रित योजना
उदयपुर । उदयपुर जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६ अर्ब ६० करोड ८७ लाख ३३ हजार ४९९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन्।
जिल्लाको सबैभन्दा ठूलो बजेट त्रियुगा नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो। बजेटमा आन्तरिक स्रोत, राजस्व बाँडफाँट, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य आयस्रोतका रूपमा समेटिएको छ। नगरपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ।
त्यसैगरी चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २१२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सामाजिक सुरक्षा तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।
कटारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता, पूर्वाधार विकास तथा डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
यता बेलका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ३१ लाख १० हजार १२४ रुपैयाँ बराबरको बजेट स्रोत प्रस्तुत गरेको छ। नगरपालिकाले बजेटमाथिको छलफल प्रक्रिया अझै जारी रहेको जनाएको छ।
गाउँपालिकातर्फ उदयपुरगढी गाउँपालिकाले ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालु खर्चतर्फ ४४ करोड ८७ लाख ६३ हजार तथा पुँजीगत खर्चतर्फ १९ करोड ८९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ।
रौतामाई गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। रौतामाई गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, विपद् व्यवस्थापन तथा सुशासनका क्षेत्रमा बजेट विनियोजन गरेको जनाएको छ।
त्यस्तै लिम्चुङबुङ गाउँपालिकाले ४२ करोड ४१ लाख ५१ हजार १६३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राख्दै चालु तथा पुँजीगत खर्चको व्यवस्था गरेको जनाएको छ।
ताप्ली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउने जनाएको छ।
जिल्लाका आठवटै पालिकाले सार्वजनिक गरेका बजेट हेर्दा शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, रोजगार तथा सुशासनलाई साझा प्राथमिकतामा राखेको देखिन्छ। स्थानीय तहहरूले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बजेट सार्वजनिक गरेका हुन्।








प्रतिक्रिया राख्नुहोस्