तपाईँ सुन्दै हुनुहुन्छः

जानकी गाउँपालिकाको ६९ करोड ५६ लाख रुपैयाँ बजेट पारित

बाँके।बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ६९ करोड ५६ लाख २९ हजारको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँसभाको २०औँ अधिवेशनबाट पारित बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकता दिइएको छ। उपाध्यक्ष रामप्यारी यादवले सभामा बजेट प्रस्तुत गर्नुभएको थियो।

कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ रु ४९ करोड ९६ लाख २९ हजार समेटिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड तथा राजस्व बाँडफाँडबाट रु एक करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ।

बजेटअनुसार आर्थिक विकासतर्फ रु ४५ लाख ७४ हजार, सामाजिक विकासतर्फ रु चार करोड ११ लाख ४४ हजार, पूर्वाधार विकासतर्फ रु १२ करोड ४५ लाख ११ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु २७ लाख तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ रु ११ करोड आठ लाख विनियोजन गरिएको छ।

बजेटअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईले सभामा प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन, श्रम तथा रोजगार, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, सुशासन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिका प्रवक्ता टीकानाथ यादवले समृद्धि, सुशासन र नागरिकमैत्री सेवा प्रवाहका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नीति तथा कार्यक्रम र बजेटले गाउँपालिकाको समग्र विकास तथा नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।

गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा स्वीकृत भएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जानकारी दिनुभयो। कार्यक्रममा गाउँपालिकाका छवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button