नेपाल–भारत सीमा क्षेत्रमा ४२ नयाँ स्तम्भ निर्माण, १०९ मर्मतसम्भार
बाँके। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने संयुक्त फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । सर्वेक्षणका क्रममा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ ।
नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय सहमतिअनुसार परिचालित फिल्ड सर्वेक्षण टोली नम्बर–३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमारेखा क्षेत्रमा प्राविधिक अध्ययन सम्पन्न गरेको हो । टोलीले सीमा स्तम्भहरूको अवस्थिति यकिन गर्ने, हराएका तथा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने र अभिलेख अद्यावधिक गर्ने कार्य गरेको थियो ।
टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला भए पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मतसम्भारको काम सम्पन्न गरिएको हो ।
नापी विभागका प्रमुख नापी अधिकृत खिम रानाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा सीमा स्तम्भ मर्मत गरिएको छ । तीमध्ये बाँके जिल्लामा मात्रै ३५ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ । साथै नेपालतर्फ ४९ र भारततर्फ ४६ गरी कुल ९५ वटा सीमा स्तम्भको मर्मतसम्भार सम्पन्न गरिएको छ ।
सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सीमा स्तम्भहरूलाई भू–उपग्रह (जीपीएस) प्रणालीमा आबद्ध गर्ने तयारीसमेत गरिएको छ । यसका लागि नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौराकोट, दाङको लमही र बाँकेको कालाबञ्जरमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर जीपीएस अवलोकन गरिएको थियो ।
प्रमुख नापी अधिकृत रानाले भन्नुभयो, “नेपाल र भारत दुवै पक्षको सहकार्यमा सीमा स्तम्भलाई भू–उपग्रह प्रणालीसँग आबद्ध गर्ने उद्देश्यले विभिन्न स्थानमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर अवलोकन गरेका छौँ ।”
भविष्यमा सम्पूर्ण सीमा स्तम्भलाई जीपीएसमा आधारित प्रणालीसँग जोड्ने लक्ष्यअनुसार सहायक मापन केन्द्र स्थापना गर्न आवश्यक स्थानहरूको छनोटसमेत सम्पन्न गरिएको जनाइएको छ ।
फिल्ड सर्वेक्षण सम्पन्न भएसँगै नेपाल–भारत सीमासम्बन्धी संयुक्त सुरक्षा संयन्त्रको समीक्षा बैठक नेपालगन्जमा आयोजना गरिएको थियो । बैठकमा नेपालतर्फ बाँके, दाङ, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फ श्रावस्तीसहित सम्बन्धित जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार बैठकले सीमा स्तम्भहरूको अवस्था, मर्मतसम्भारको प्रगति, पुनर्निर्माण तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरेको हो ।
तीन महिनासम्म सञ्चालन गरिएको यो अभियानले नेपाल–भारत सीमाको व्यवस्थापन, अभिलेखीकरण र सुरक्षालाई थप व्यवस्थित तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण आधार तयार गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।





प्रतिक्रिया राख्नुहोस्