हर्मुज जलमार्गमा रोकिएको करिब १ लाख ६० हजार मेट्रिक टन मल एक महिनाभित्र नेपाल भित्रिने
वीरगञ्ज । हर्मुज जलमार्गमा रोकिएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत आयात भइरहेको करिब १ लाख ६० हजार मेट्रिक टन रासायनिक मल एक महिनाभित्र नेपाल भित्रिने भएको छ ।
धान रोपाइँको मुख्य समयमा मल अभाव भइरहेका बेला मध्यपूर्वमा उत्पन्न तनावका कारण रोकिएको आपूर्ति अब सहज हुने अपेक्षा गरिएको छ ।
अमेरिका र इरानबीचको तनावका कारण हर्मुज जलमार्गमा मल तथा इन्धन बोकेका जहाजहरू लामो समयदेखि रोकिएका थिए । हाल शान्ति वार्ता र सम्झौता भएपछि आपूर्ति सुचारु हुने प्रक्रिया सुरु भएको जनाइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार ग्लोबल टेन्डरमार्फत चीनबाट आयात गर्न लागिएको ७२ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल हर्मुजमा रोकिएको थियो । अब ती जहाजहरू कोलकाता बन्दरगाहतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।
त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडमार्फत जी–टु–जी प्रक्रियामा आयात भइरहेको ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल पनि फागुनदेखि हर्मुज जलमार्गमै रोकिएको थियो ।
कम्पनीका अनुसार मल नेपाल आइपुग्न अझै एक महिनाभन्दा बढी समय लाग्नेछ । धान रोपाइँको समयमा तत्काल अभाव देखिए पनि गोडमेल चरणका लागि आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
मध्यपूर्वी तनावका कारण मलको मूल्यसमेत दोब्बरले बढेकाले आयातमा थप चुनौती आएको साल्ट ट्रेडिङले जनाएको छ । अन्नको भण्डार मानिने मधेश प्रदेशमा मल अभावको सम्भावनाले किसानहरू चिन्तित बनेका छन् ।







प्रतिक्रिया राख्नुहोस्