मल आपूर्ति र साना किसानको हित सरकारको प्राथमिकता: मन्त्री गीता चौधरी
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेटमध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिइने अनुदान तथा प्राङ्गारिक मल उत्पादन आदिलाई प्रोत्साहन गर्ने गरी बजेट व्यवस्थापन गरिएको बताउनुभएको छ।

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाका विषयमा जवाफ दिनुहुँदै मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब ७५ प्रतिशत भन्दाबढी बजेटबाट साना किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएको बताउनुभयो ।
मन्त्री चौधरीले कृषि तथा पशुजन्य उत्पादनका लागि न्यूनतम २ करोड रुपैयाँसम्म प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान प्रदान गर्ने कार्यक्रमलाई पाइलट कार्यक्रमका रुपमा अगाडी बढाएको जानकारी गराउनुभयो ।
मन्त्री चौधरीले आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको र मल वितरणमा संघ, प्रदेश र स्थानीय तह सबैको सहभागितामा वितरण गराइरहेको बताउनुभयो ।
उहाँले रासायनिक मलको बढ्दो प्रयोग न्युनिकरण र प्राङ्गारिक मलको उत्पादन, माटो स्वास्थ्य सुधार कार्यक्रम, हरियो मल प्रवद्र्धन कार्यक्रम, प्राङ्गारिक कृषि उत्पादन जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्