‘औषधीको समस्या दीर्घकालीन रुपमा समाधान हुने गरी काम अघि बढाइन्छ’
काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधीको सहज आपूर्ति र मूल्य समायोजन स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले औषधीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी काम अगाडी बढाउन लागेको बताउनुभयो ।
मन्त्री मेहताले अधिकतम खुद्रा मूल्य निर्धारण गरिएका औषधीहरूको विगत एक दशकदेखि मूल्य समायोजन नभएको र विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बजारमा औषधी अभाव देखिएको विषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय तहको जिम्मेवारी रहेको तथा आधारभूत अस्पतालहरूमा विशेषज्ञ सेवा हाल सम्भव नभएको भन्दै मन्त्री मेहताले आधारभूत सेवा पूर्ण रुपमा प्रवाह गरेपछि मात्रै अन्य सेवा क्रमशः विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।
मन्त्री मेहताले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको, स्वास्थ्य बिमाको समग्र व्यवस्थापन गरी दिगो समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारका उपायहरू ल्याएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्