टिपरको ठक्करबाट युवकको मृत्यु
रौतहट । रौतहटको गरुडामा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मङ्गलवार अपराह्न करिब पौने ५ बजेको समयमा गरुडा नगरपालिका–४ स्थित गरुडाबाट चिनी मिलतर्फ जाने भित्री सडकखण्डमा मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपर र ना २८ प ७२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार कटहरिया नगरपालिका–६ फतेपुर निवासी २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गरुडा नगरपालिका–८ जिगंडिया निवासी २२ वर्षीय शेख आशिक घाइते भएका छन् ।
त्यसैगरी मोटरसाइकलको पछाडि सवार गरुडा नगरपालिका–८ कै तीन वर्षीय मोहम्मद कमरानको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर, मोटरसाइकल तथा टिपर चालक चन्द्रपुर नगरपालिका–५ निवासी ४३ वर्षीय धर्मलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्