बाँकेमा बाढी केन्द्रित पूर्वतयारी योजना लागू
बाँके । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै बाँके जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ लागू गरेको छ । बाढी तथा डुबानलाई मुख्य जोखिमका रूपमा पहिचान गर्दै तयार गरिएको योजनाले सम्भावित क्षति न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

बाँकेमा प्रत्येक वर्ष बाढी, डुबान, आगलागी, शीतलहरी, हावाहुरी, लू, महामारी, खडेरी, फौजी किराको प्रकोप तथा सडक दुर्घटनाजस्ता विपद्का घटना दोहोरिने गरेका छन् । तीमध्ये पनि राप्ती, डुडुवा र मानखोला नदीमा आउने बाढीका कारण नदी तटीय क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । यही अवस्थालाई ध्यानमा राख्दै यस वर्षको योजना विशेषगरी बाढी केन्द्रित बनाइएको हो ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले जोखिमको पूर्वानुमान र पूर्व तयारीले विपद्का बेला हुने क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार जिल्ला, पालिका र वडा तहसम्म जोखिम मूल्याङ्कन गरी पूर्वतयारी गरिएमा विपद्पछिको अवस्था छिट्टै सामान्य बनाउन सकिन्छ ।
समितिले जिल्लाका आठ वटै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थासँगको समन्वयमा योजना तयार गरेको जनाएको छ । योजनाअनुसार यस वर्ष मनसुनजन्य विपदबाट ८ हजार ५ सय घरपरिवारका करिब ३५ हजार नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ । सोही आधारमा जिल्ला तथा स्थानीय तहमा आवश्यक पूर्व तयारीका काम अघि बढाइएको छ ।
विपद् व्यवस्थापन समितिका अनुसार बाढी विपद्को प्रकृतिलाई ध्यानमा राख्दै पूर्व विपद्, विपद्का बेला र विपद्पछिका तीनै चरण समेटेर योजना निर्माण गरिएको हो। जिल्लाका सबै क्षेत्रगत निकायहरूको समष्टिगत योजना र जिम्मेवारीलाई समेट्दै प्रतिकार्य संरचना तयार गरिएको समितिले जनाएको छ।
योजनाले राप्ती नदी आसपासका राप्तीसोनारी, डुडुवा र नरैनापुर क्षेत्रलाई उच्च जोखिमयुक्त मानेको छ। ती क्षेत्रमा बाढीका बेला समयमै पुग्न कठिनाइ हुने, जनचेतनाको कमी, खोज तथा उद्धारका उपकरण र सामग्रीको अभाव, कच्ची सडक तथा बाटो कटान हुने जोखिम, साथै साँघुरा भित्री सडकका कारण दमकल र एम्बुलेन्स सबै क्षेत्रमा पुग्न नसक्ने अवस्थालाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।
योजनामा केन्द्र, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई थप सुदृढ गर्दै विपद् व्यवस्थापनको संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ। हाल बाँकेका आठवटै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति गठन भइसकेको र अधिकांश वडामा वडा स्तरीय विपद् तथा जलवायु अनुकूलन समिति गठन अन्तिम चरणमा पुगेको जनाइएको छ ।
समितिले समयमै पूर्वतयारी, सचेतना अभिवृद्धि, उद्धार सामग्रीको व्यवस्थापन र समन्वयात्मक कार्यलाई प्रभावकारी बनाएर सम्भावित मानवीय तथा भौतिक क्षति न्यून गर्न सकिने विश्वास व्यक्त गरेको छ।







प्रतिक्रिया राख्नुहोस्