तपाईँ सुन्दै हुनुहुन्छः

मानसिक स्वास्थ्यका कारण मधेशमा प्रति वर्ष एक हजार तीन सयको मृत्यु

जनकपुरधाम । पछिल्लो समयमा विभिन्न कारणले मधेश प्रदेशका जिल्लाहरूमा मानसिक स्वास्थ्य रोगीहरूको सङ्ख्यामा वृद्धि भएको छ । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजना तथा संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष र टिओपी नेपालको सहयोग एवं समन्वयमा आज जनकपुरधाममा सम्पन्न भएको “मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रम”को प्रदेश स्तरीय वार्षिक समीक्षामा सो जानकारी दिइएको हो ।    

मधेश प्रदेशका जिल्लाहरूमा मानसिक स्वास्थ्य समस्याका कारणले एक वर्षको अवधिमा १ हजार २ सय ८८ जनाको मृत्यु भएको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मानसिक स्वास्थ्य समस्याका कारणले वर्षेनी रुपमा मृत्युवरण गर्नेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको तथ्याङ्क रहेको छ ।

मानसिक स्वास्थ्य समस्याका कारणले झुन्डिएर १ हजार १ सय ६ जनाको मृत्यु हुनुका साथै विष सेवनका कारणले १ सय ८२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क रहेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मधेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र प्रसाद साहले पछिल्लो समयमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्यामा वृद्धि हुँदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले मधेश प्रदेशका जिल्लाहरूमा ६४ लाख जनसङ्ख्या भए पनि मानसिक रोगको उपचारका लागि सरकारी तथा नीजि क्षेत्रमा गरी १० जना चिकित्सक मात्र रहनुभएको जानकारी दिनुभयो ।  

मधेश प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको समीक्षा बोल्दै संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले वर्षको १ हजार ३ सय जनाको मानसिक स्वास्थ्यका कारणले मृत्यु हुनु चिन्ताको विषय भएको बताउँदै हरेक पालिकामा मानसिक स्वास्थ्य परामर्श सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका १३६ पालिकामध्ये सामी परियोजनाको सहयोगमा ९३ पालिकामा हाल मनोसामाजिक परामर्शकर्ताको पहुँच पुर्‍याउने काम भएको र मानसिक रोगको अत्यावश्यक औषधि खरिद गरेर वितरण गर्ने काम भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिइएको छ ।

आठ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा भएको प्रदेश स्तरीय समीक्षामा मानसिक स्वास्थ्य समस्याको समाधानका लागि नीतिमा सुधार गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button