३५ प्रतिशतले घट्यो गण्डकीको खेलकुदको बजेट
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको आकार बढाए पनि खेलकुद क्षेत्रको बजेट भने उल्लेख्य रूपमा कटौती गरेको छ । प्रदेश खेलकुद परिषद्को बजेट चालु आर्थिक वर्षको ९ करोड २४ लाख रुपैयाँबाट घटाएर ६ करोड रुपैयाँमा सीमित गरिएपछि खेलकुद वृत्तमा व्यापक चासो र चिन्ता हुन थालेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि बजेट बढाएर ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ पुर्याइएको छ । अर्थात् कुल बजेट करिब १ अर्ब २ करोड रुपैयाँले वृद्धि भएको छ । तर, बजेट बढेको अवस्थामा समेत खेलकुद क्षेत्रको बजेट ३ करोड २४ लाख रुपैयाँले घटाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३५ प्रतिशत कम हो ।
आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा खेल पूर्वाधार स्तरोन्नति, खेलाडी संरक्षण तथा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनलाई निरन्तरता दिने उल्लेख गर्दै प्रदेश खेलकुद परिषद्का लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । तर, खेलकुद क्षेत्रका सरोकारवालाहरूले भने उक्त बजेटले नियमित कार्यक्रम सञ्चालन गर्न समेत कठिन हुने बताउनुभएको छ ।
बजेट कटौतीको प्रत्यक्ष असर आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा पर्ने देखिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मात्र गण्डकी प्रदेशले करिब ५ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो । सो प्रतियोगितामा गण्डकीले ३२ स्वर्ण पदकसहित प्रदेशतर्फ पहिलो स्थान हासिल गर्दै राष्ट्रिय खेलकुदमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको थियो ।
तर आगामी वर्ष हुने दशौं राष्ट्रिय खेलकुदलाई लक्षित प्रशिक्षण, खेलाडी छनोट, बन्द प्रशिक्षण तथा व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन कठिन हुने सङ्केत देखिएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।
चालु आर्थिक वर्षमा यस्ता प्रतियोगिताका लागि करिब ५० लाख रुपैयाँ र विभिन्न खेल संघ, संस्था तथा क्लबलाई थप ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराइँदै आएको थियो । तर आगामी वर्ष परिषद्को बजेट घटेसँगै यस्ता सहयोग कार्यक्रम संकुचित हुने सम्भावना बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्