तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै

काठमाडौँ । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने भएको छ । 

समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमि नेपालबाट शान्ति, ध्यान र प्रेमको दिव्य प्रकाश सबै विश्वमा फैलिन्छ भन्ने सन्देशसहित कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने जानकारी गराउनुभयो । 

उहाँले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनाको मुख्य उद्देश्य नेपाललाई योग गुरुको देश बनाउने र यसका प्राचीन योग, तपस्या, ध्यान तथा आध्यात्मिक सभ्यतालाई विश्वमाझ चिनाउनु रहेको समेत बताउनुभयो । 

योग दिवस मनाउन यही असार ३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ  । योग दिवसका दिन असार ७ गते कैलाश–मानसरोवरमा नै सामूहिक रुपमा योग र ध्यान गरेर मनाइने उहाँले बताउनुभयो । 

“भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सबै नेपालीका लागि खुसीको विषय हो,” उहाँले भन्नुभयो,  “कैलाश–मानसरोवरको पावन उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटातर्फ लैजाने पवित्र साधन बन्छ भन्ने हाम्रो विश्वास छ ।”

कार्यक्रमले नेपाल, भारतसहित विश्वभरका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता, आध्यात्मिक अभियानकर्मीलगायत सय जनाभन्दा बढीको सहभागिता हुने उहाँको भनाई छ । उहाँले कैलाश–मानसरोवर मनाइने दिवसले नेपालको योग, ऋषि तथा आध्यात्मिक परम्परालाई विश्वमाझ उजागर गर्ने बताउनुभयो ।

समाजका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र छन् । 

कैलाश मानसरोवरमा हुने यस अन्तर्राष्ट्रिय योग यात्रा तथा साधनाबाट नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्ने अपेक्षासमेत लिइएको छ । 

अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’ भन्ने सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुग्नाका साथै विश्वका विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन मद्दत गर्ने बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button