११ महिनामा वीरगञ्ज भन्सारद्वारा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली
वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ११ महिनाको अवधि अर्थात् जेठ मसान्त सम्ममा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) लाई बैशाख मसान्त सम्म ११ महिनाको लागी २ खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । आईसिपी वीरगन्जले ११ महिनाको अवधिमा तोकिएको लक्ष्यको ८८ दशमलब ८९ प्रतिशत राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ११ महिनामा २७ अर्ब ६७ करोड कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको ११ महिनाको अवधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व सङ्कलन गर्न सकेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।
प्रमुख भन्सार प्रशासक मैनालीले एमआरपि विवाद, पेट्रोलियम पदार्थको आयातमा कमी, निर्वाचन, र वर्षायाम, डुबानको कारण पनि राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै गत आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्दा भन्दा चालु आवको ११ महिनामा भने बढी राजश्व सङ्कलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८१/०८२ को ११ महिनाको अवधिमा यस भन्सारले २ खर्ब १ अर्ब १७ करोड २८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा अर्थ मन्त्रालय भन्सार विभागले २ खर्ब ३५ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो ।
वीरगन्ज भन्सारले गत वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष ०८२/०८३ को ११ महिनाको अवधिमा २० अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्ष ०८२/०८३ मा वीरगञ्ज भन्सारलाई अर्थ मन्त्रालयबाट २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष को साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड वैशाखमा २१ अर्ब ७४ करोड राजस्व सङ्कलन गरेको छ ।
यस्तै, जेठमा २२ अर्ब ८ करोड ४५ लाख राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्