प्रतिनिधि सभा बैठक: विनियोजन विधेयक, २०८३ माथिको छलफल प्रारम्भ

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको छ ।
छलफलको आज पहिलो दिन विभिन्न नौ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको हो ।
बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ ।
विनियोजन विधेयकअन्तर्गतको मन्त्रालयगत विभिन्न शीर्षकहरूमा १२ जना सांसदहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले उत्पादनमा कमजोर, प्रशासनमुखी बजेट आएको तथा नयाँ उद्योग स्थापना लगायतका ध्यान पुग्न नसकेको बताउनुभयो ।
सांसदहरुले उद्योग मन्त्रालयको बजेटले सुदूरपश्चिम र कर्णालीको भूगोललाई छुन नसकेको, उद्योग मन्त्रालयमा बेनामे शीर्षकमा बजेट विनियोजन गरिएको भन्दै केका लागि बेनामे शीर्षकमा राखिएको हो स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसदहरुले प्रेस स्वतन्त्रताको रक्षा गर्ने, पत्रकारको हकहितलाई ध्यान दिएर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले राष्ट्रिय संस्कृति ऐन निर्माण जरुरी रहेको, पर्यटक विकासका लागि सांस्कृतिक विकासमा जोड दिनुपर्ने, भाषाभाषी र जातजातिको संरक्षण, शिक्षालगायतमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।
विनियोजन विधेयकमाथिको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्