मलेसियाको पसिनादेखि गाउँको ‘सुनाखरी’ सम्म: दीपक बस्नेतको सुखद रूपान्तरण

विराटनगर। धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारका दीपक बस्नेत अचेल आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बनेका छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले सुरु गरेको होमस्टे (घरबास) व्यवसाय उहाँको आर्थिक रूपान्तरणको मुख्य माध्यम बनेको हो।
चार वर्ष मलेसियामा रोजगारी गरेर फर्किएपछि दीपकले लामो समय यातायात क्षेत्रमा बस चालकका रूपमा काम गरे। तर, गाडी लाइनमा सोचेजस्तो आम्दानी नभएपछि उनले गाउँमै केही गर्ने सोच बनाए। आफ्नो गाउँघरका पर्यटकीय स्थलहरू घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरू उल्लेख्य रूपमा आउन थालेको देखेपछि उनले दुई वर्षअघि आफ्नै घरमा होमस्टे व्यवसाय सुरु गरेका हुन्।
वैदेशिक रोजगारीको कमाइ र बैङ्कबाट २५ लाख रुपैयाँ ऋण लिएर उनले आफ्नै घरमा “सुनाखरी होमस्टे” सञ्चालनमा ल्याए। बैङ्कको ऋण लिएर सुरु गरेको यस व्यवसायबाट विदेशको भन्दा दोब्बर कमाइ भइरहेको दीपक बताउँछन्। उहाँ भन्नुहुन्छ,
“परिवारलाई छाडेर विदेशमा दिनरात पसिना बगाउनु भन्दा आफ्नै परिवारसँग मिलेर स्वदेशमै होमस्टे चलाउँदा विदेशमा भन्दा दोब्बर आम्दानी हुँदो रहेछ । “
एक रातमा २५ जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उनको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट समेत पाहुनाहरू आउने गरेका छन्। आन्तरिक पर्यटक मात्र नभई, विदेशमा रहेका आफन्त र चिनजानका माध्यमबाट अमेरिका र स्विट्जरल्यान्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। बस्नेतका अनुसार उहाँको होमस्टेमा वार्षिक ५ देखि ६ हजारसम्म आन्तरिक तथा बाह्य पाहुनाहरू आउने गरेका छन्।
घरमै बसेर पाहुनालाई स्थानीय अर्गानिक (प्राङ्गारिक) खाना र स्थानीय संस्कृति पस्कन पाउँदा उहाँ निकै सन्तुष्ट हुनुहुन्छ। होमस्टेको आम्दानीले बैङ्कको ऋण तिर्न र घरखर्च चलाउन निकै सहज भएको उहाँले बताउनुभयाे। कोठाहरूमा आधुनिक तवरले “अट्याच बाथरुम” सहित सुरु गरिएको यो व्यवसायले उहाँको आर्थिक अवस्थामा ठूलो सुधार ल्याएको छ। पहाडी जिल्लाका गाउँबस्तीसम्म मोटरबाटो पुगेपछि होमस्टे व्यवसाय थप फस्टाएको उहाँको अनुभव छ।

“विदेशबाट फर्केर गाडी लाइनमा बस चलाउने गरेको थिएँ, अहिले आफ्नै घरमा होमस्टे चलाउन पाउँदा निकै खुसी छु,” दीपकले भन्नुभयाे, “कामका लागि विदेश जानुभन्दा युवाहरूलाई स्वदेशमै बसेर व्यवसाय सञ्चालन गर्न म आग्रह गर्दछु।”
श्रीमतीको साथ र स्थानीय महिलालाई रोजगारी
दीपकको यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिनुभएकाे छ। व्यवसाय राम्ररी चल्न थालेपछि अचेल उनीहरूलाई भ्याइनभ्याइ छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी छन्। यो व्यवसायले पैसाका लागि अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको र समाजमा घुलमिल हुन तथा बोल्न सिकाएको उहाँ बताउनुहुन्छ।
“अहिले खाली भएँ भन्नु पर्दैन, होमस्टेमा पाहुना आइराख्नुहुन्छ। उहाँहरूकै सेवामा समय बित्ने गरेको छ,”अर्पणा भन्छिन्, “यो त धेरै राम्रो पेसा रहेछ। यो व्यवसायबाट म मात्र होइन, गाउँका धेरै महिलाहरूले पनि काम पाएका छन्।”
होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँले बताउनुभयाे।
निजी होमस्टे सञ्चालकको गुनासो
व्यवसाय सफल भए पनि राज्यको नीतिप्रति भने बस्नेत दम्पतीको केही गुनासो छ। सामुदायिक होमस्टेलाई स्थानिय तथा प्रदेस सरकारले आवश्यकपर्ने विभिन्न प्रकारको सामान सहयोग गरेपनि निजि होमस्टेहरुले भने त्यस प्रकारको कुनै सहयोग नपाएको उहाँहरुको गुनासो छ ।
सामुदायिक होमस्टेलाई आवश्यक पर्ने भाँडाकुँडा तथा फर्निचरहरू स्थानीय सरकारबाट उपलब्ध हुने गरेको उल्लेख गर्दै अर्पणाले भन्नुभयाे, “यस प्रकारको सहयोग निजी होमस्टेले पनि पाउने हो भने गाउँका अन्य धेरै महिलाहरू समेत यो व्यवसायमा जोडिएर आत्मनिर्भर बन्न सक्ने थिए।”







प्रतिक्रिया राख्नुहोस्