तपाईँ सुन्दै हुनुहुन्छः

सुस्तामा भारतीय एसएसबी प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार 

नवलपरासी (सुस्ता)।  नवलपरासीको सीमा क्षेत्र नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही सुरक्षाकर्मी प्रवेश गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।

घटनापछि क्षेत्र केहीबेर तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार बिहान करिब ५ देखि ७ जनाको सङ्ख्यामा रहेका एसएसबीका सुरक्षाकर्मी बिना पूर्वसूचना सुस्ता क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि स्थानीयवासीले विरोध जनाउँदै उनीहरूलाई फर्किन बाध्य बनाएका थिए। घटना बिहान ६ बजेतिरको बताइएको छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय सञ्जित शर्माका अनुसार स्थानीयले “यो तिम्रो बिहार होइन” भन्दै प्रतिकार गरेपछि एसएसबीका सुरक्षाकर्मी पछाडि हटेका थिए। उनले भारतीय पक्षले पछिल्ला केही दिनयता सुस्ता क्षेत्रमा सक्रियता बढाएको र स्थानीयको आवतजावतमा समेत अवरोध सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे।

यता, घटनाबारे जिल्ला प्रशासन कार्यालय भने तत्काल अनभिज्ञ देखिएको छ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेको विषयमा जानकारी आएको बताउँदै त्यसबारे सशस्त्र प्रहरी बलसँग बुझ्ने काम भइरहेको जानकारी दिनुभयो।

सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ। यसअघि पनि समय–समयमा दुवै देशका सुरक्षाकर्मी र स्थानीयबीच सीमा गतिविधिलाई लिएर विवाद तथा तनाव हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button