मकवानपुरका दुई पालिका पूर्णखोप सुनिश्चित घोषणा, आज थप दुईवटा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको दुईवटा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको इन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई बुधबार एक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि घोषणा गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चरणको अनुगमन र प्रमाणीकरण प्रक्रिया पुरा गरेर मात्रै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार इन्द्रसरोवर गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १८२ जना र १६ महिनादेखि २३ महिनासम्मका ९४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । यस्तै, भीमफेदी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३०० जना र १६ देखि २३ महिनासम्मका २२९ जना बालबालिकाले खोप पाएका छन् । भीमफेदीमा यसअघि पूर्ण खोप लगाउन छुट भएका एक जनालाई पनि पूर्ण खोपको दायरामा ल्याइएर पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

यसैगरी, जिल्लाको मकवानपुरगढी र बागमती गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चितता घोषणा गर्न लागिएको रिमालले बताउनुभयो । मकवानपुरगढीमा जन्मदेखि १५ महिनासम्मका ३६२ जना र १६ देखि २३ महिनासम्मका २३३ जना बालबालिकाले खोप लगाएका छन् । बागमती गाउँपालिकामा भने, जन्मदेखि १५ महिनासम्मका ३४५ जना र १६ देखि २३ महिनासम्मका २९८ जना बालबालिकाले नियमित खोप लगाएको र छुट भएका १२ जना बालबालिकाले पनि पूर्ण लगाएको पाइएपछि आज घोषणा गर्न लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
१० वटा स्थानीय तह रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिका प्रमाणीकरण प्रक्रिया पूरा गरी घोषणाका लागि तयार छन् भने राक्सिराङ, बकैया र कैलाश गाउँपालिकामा प्रमाणीकरणको प्रक्रियामा जारी रहेको जनस्वास्थ्य निरीक्षक रिमालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्