तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी राजमार्गअन्तर्गत बाँकेको नारायणपुर–खोकरी सडक विस्तार हुने

बाँके। लामो समयदेखि अलपत्र रहेको हुलाकी राजमार्गअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्मको सडक विस्तार हुने भएको छ। परियोजनाका लागि स्रोत सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका अनुसार राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि राप्तीसोनारी–१ खोकरी हासबाससम्मको सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डमा पर्ने ७५ किलोमिटर सडक निर्माणका लागि २९ अर्ब रुपैयाँ स्रोत सुनिश्चित भएको छ।

बाँके खण्डमा करिब ३६ किलोमिटर सडक ट्र्याक खोल्नुपर्नेछ भने २० वटा पुल निर्माण गरिनेछ। दाङ खण्डमा २२ किलोमिटर सडक र १७ वटा पुल निर्माण गरिनेछ।

प्रमुख भण्डारीले ठेक्का प्रक्रिया अघि बढिसकेको र तीन वर्षभित्र दाङ, बाँके र बर्दिया खण्डको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार यो सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा काम गर्नुका साथै पूर्व–पश्चिम जोड्ने र पिछडिएका बस्तीलाई विकासको मूलधारमा ल्याउन सहयोग गर्नेछ।

परियोजनाअन्तर्गत करिब १५ किलोमिटर घना वन क्षेत्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। १२ मिटर चौडा सडकमा ९ मिटर चौडाइमा कालोपत्र गरिनेछ। असार मसान्तसम्म सूचना प्रकाशन प्रक्रिया पूरा गरी आगामी असोजदेखि निर्माण कार्य सुरु गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ।

यसैबीच, परियोजनाका लागि स्रोत सुनिश्चित भएपछि हुलाकी सडक आयोजना, स्थानीयवासी तथा पत्रकारहरूको टोलीले प्रस्तावित सडक खण्डको स्थलगत अनुगमन गरेको छ। कुसुमस्थित झोलुङ्गे पुल हुँदै भम्का र बैजापुरसम्मको प्रस्तावित मार्गको पैदल अवलोकन गरिएको स्थानीय गहेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button