तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री डा तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले चलचित्र क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताउनुभयो । “आज यहाँ भएको सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन । यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेटिने उहाँको भनाइ थियो ।

“यहाँहरूको जीवन र लगानी जोडिएको यो क्षेत्रलाई उचाल्न विधेयकलाई कस्तो ऐनका रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकारका तर्फबाट म हरसम्भव प्रयास गर्नेछु”, उहाँले भन्नुभयो, “समितिसँग पनि आवश्यक समन्वय र संवाद गरेर अघि बढ्न सकिन्छ ।”

उहाँले विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने विषयमा धेरै बहस हुने गरे पनि लगानी कसरी सिर्जना गर्ने, कसरी उत्पादन गर्ने र कसरी आम्दानी बढाउने भन्ने विषयमा अपेक्षाकृत कम छलफल हुने गरेको उल्लेख गर्नुभयो । चलचित्र क्षेत्रले देश, समाज र अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान दिने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको उहाँको धारणा थियो ।

देशको पहिचान, संस्कृति र आवाज बोल्ने गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा सरकारले करिब रु साढे तीन करोड बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले त्यसको सकारात्मक परिणामका आधारमा आगामी वर्ष थप बजेट वृद्धि गर्न पहल गरिने बताउनुभयो ।

“राम्रा चलचित्र, देश बोल्ने चलचित्रलाई राज्यले केही न केही साथ दिनुपर्छ भन्ने सोचका साथ बजेट छुट्याइएको हो”, उहाँले भन्नुभयो, “यसले सकारात्मक नतिजा दियो भने आगामी वर्ष अझ बढी बजेटका लागि आधार तयार हुन्छ ।”

उहाँले चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न चलचित्र विकास बोर्डलाई थप सक्षम र सबल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै चलचित्र क्षेत्रको उन्नयनका लागि सबै पक्षले हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

सम्मान समारोहमा कान्स फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘इलिफेन्ट्स इन द फग’को समूहलाई रु दुई लाख ५० हजार राशिसहित सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button