तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता शुरु 

बीरगंज । “खेली मधेस, जिती मधेश”  भन्ने नाराका साथ आजबाट वीरगंजमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता शुरु भएको छ । 

मधेस खेलकुद परिषद्को आयोजनामा वीरगंजको सशस्त्र प्रहरी गण परिसर भित्र रहेको कवडहलमा आयोजित प्रतियोगिताको आज मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा ७ प्रदेशका ७ वटा टोली तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ३ विभागीय टोलीका २ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले कवडी खेल मधेसको माटोबाट नेपालमा सुरुवात भएको र यो खेललाई मधेसमा स्थापित गराउन कवडहलसहित खेलका आधारभूत संरचनाहरू तयार गर्ने अभियानमा परिषद् जुटेको बताउनुभयो । 

कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, नेपाल पारा ओलम्पिक सुटिङ संघका राष्ट्रिय उपाध्यक्ष कमल अधिकारी, नेपाल गल्फ संघका केन्द्रिय सचिव डेबिट भण्डारी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पर्सा जिल्ला स्थित प्रमुखहरू, स्थानीय सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको समापन तथा फाइनल खेल आगामी जेठ ३० गते हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button