रास्वपा उदयपुर सभापतिमा चित्रकुमार कार्की निर्वाचित
उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशन अन्ततः सम्पन्न भएको छ।
लामो विवाद, कार्यतालिका रद्द तथा पुनः निर्वाचन प्रक्रियापछि सम्पन्न मतदानबाट चित्र कुमार कार्की नेतृत्वको प्यानल विजयी भएको हो।
जिल्ला सभापति पदमा चित्र कुमार कार्कीले ११३ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी जनक बस्नेतले ८१ मत प्राप्त गर्नुभयो । कार्कीले आफ्नो सम्पूर्ण प्यानलसहित नेतृत्वमा स्पष्ट बहुमत हासिल गर्न सफल हुनुभएको छ ।
उपसभापति पदमा किरण राउत १०१ मतसहित विजयी हुनुभयो भने कृष्ण कुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गर्नुभयो । सचिव पदमा सूर्य बहादुर लामा ९६ मतसहित निर्वाचित हुँदा भुवन खतिवडाले ७५ र जनार्दन कार्कीले २० मत प्राप्त गर्नुभयो ।
सह–सचिव पदमा सूर्य कुमार राई १११ मतसहित विजयी हुनुभयो भने हुकुम मणि पाण्डेले ८२ मत प्राप्त गर्नुभयो ।
जिल्ला सदस्यतर्फ अम्बर बहादुर तामाङ, कौसिला कार्की, गुरुदेब कार्की र हेम कुमारी चौधरी विजयी हुनुभएको छ । कौसिला कार्कीले सदस्यतर्फ सबैभन्दा बढी १३८ मत प्राप्त गर्नुभयो । अन्य उम्मेदवारमध्ये पबित्रा भट्टराई, बब्लु गुप्ता, ससिला थापा र सुनिता चौधरी पराजित हुनुभएको छ। निर्विरोध रूपमा तेजमान बिक र झरना गहतराज जिल्ला सदस्य चयन हुनुभएको छ ।
यस्तै, क्षेत्र न-१ को सभापतिमा उद्दब अधिकारी ५९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी श्याम कुमार कार्कीले ५५ मत प्राप्त गर्नुभयो । क्षेत्र न १ (ख)का क्षेत्रीय उपसभापतिमा बाशु थापा र क्षेत्र न-१ (क) पबन कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
क्षेत्र न-२ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी हुनुभयो भने मीनबहादुर खड्काले १७ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा दिनेश कार्की ५० मतसहित विजयी हुँदा पूर्ण कुमारी राउतले २३ मत प्राप्त गर्नुभयो ।
यसअघि शनिबार उम्मेदवारी मनोनयन सम्पन्न भए पनि आइतबार सुरु भएको बन्द सत्रमा प्रतिनिधि विवाद चर्किएपछि निर्वाचन समितिले सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गरेको थियो । त्यसपछि पुनः उम्मेदवारी दर्ता गराएर सोमबार दिउँसोबाट मतदान प्रक्रिया सुरु गरिएको थियो ।
विवाद र आन्तरिक तनावबीच सम्पन्न अधिवेशनपछि रास्वपा उदयपुरले नयाँ नेतृत्व पाएको छ । निर्वाचन परिणामसँगै अब पार्टीभित्र सङ्गठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक रणनीतिमा नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्