तपाईँ सुन्दै हुनुहुन्छः

‘भुईँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुईँमा न भाँडोमा हुने छुट नरहेको बताउनुभएको छ ।

आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा नेपाली जनताको वास्तविक सेवक हो र यसले नै यो देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

केही दिनअघि सङ्घीय संसद्मा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधनलाई स्मरण गर्दै सचेतक परियारले भन्नुभयो, “जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्दा जनताको सेवा गर्नुको सट्टा भुईँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो, त्यस्तो काम गर्ने छुट हामलाई छैन र रास्वपाको कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नुहुँदैन ।” 

देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौँ भन्ने भावनाका साथ जनताका बीचमा होमिन उहाँले रास्वपाका सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको शिरभन्दा पनि माथि नेपाली जनता रहेको सचेतक परियारको भनाइ थियो ।  

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button