स्थानीय कृषकलाई दुई हजार बढी एवोकाडोको बिरुवा वितरण
दोलखा । विश्व वातावरण दिवसको अवसरमा दोलखाको गौरीशङ्कर गाउँपालिका र डिभिजन बन कार्यालयको सहयोग तथा रिभोलुसनरी एग्रीकल्चर वारको प्रवर्धनमा हाम्रो बगैँचा नर्सरी फलफूल तथा जडीबुटी बहुउद्देश्यीय अनुसन्धान केन्द्रले दुई हजार भन्दा बढी एवोकाडोको बिरुवा स्थानीय कृषकहरूलाई वितरण गरेको छ ।

केन्द्रले दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ र ४ का स्थानीय कृषकलाई दुई हजार छ सय वटा एवोकाडोको बिरुवा वितरण गरेको केन्द्रका सञ्चालक जङ्गबहादुर गुरुङले बताए ।
स्थानीय कृषकलाई उत्पादनमुखी कृषि तथा वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ र ४ मा पर्ने झ्याकुको सर्सेपु, डिकार्पु, यार्सा, गोर्पाङ र ज्याङबारीङका पाँच सय २० घर धुरीलाई उक्त बिरुवा वितरण गरिएको केन्द्रका सञ्चालक गुरुङको भनाई छ ।
हाम्रो बगैँचा नर्सरी फलफूल तथा जडीबुटी बहुउद्देश्यीय अनुसन्धान केन्द्रले अब युवा खाडीमा हैन बारीमा भन्ने नारा सहित स्थानीय कृषकलाई व्यवसायीक उत्पादन तर्फ आकर्षित गर्ने अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
बिरुवा वितरण कार्यक्रममा एवोकाडोको बिरुवाले फल दिन थालेपछि सबैभन्दा बढी फल उत्पादन गर्ने किसान वा संस्थालाई गौरीशङ्कर गाउँपालिका र केन्द्रले संयुक्त रुपमा १० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा समेत गरिएको छ ।
अनुसन्धान केन्द्रका सञ्चालक जङ्गबहादुर गुरुङको सभापतित्वमा सम्पन्न बिरुवा वितरण कार्यक्रममा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, डिभिजन बन कार्यालयमा प्रमुख अनिल रेग्मी, रिभोलुसनरी एग्रीकल्चर वारका निर्देशक शैलेश कँडेल, वडा अध्यक्ष युगबहादुर बस्नेत र शिवहरि खत्रीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्