तपाईँ सुन्दै हुनुहुन्छः

फलामको पाइपले च्यापिएर मजदुरको मृत्यु

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरको फलामको पाइपले च्यापिएर मृत्यु भएको छ ।

शनिबार बिहान ११ बजे आयोजना स्थलमा जेसीबीको सहायताले फलामको पाइप उचाल्ने क्रममा बाँधिएको तार चुँडिँदा पाइपले च्यापिएर २० वर्षीय दिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पाइपले च्यापिएर गम्भीर घाइते भएका रोल्पाको सुनछहरी गाउँपालिका–३ का विकको  गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तारा खोलाबाट प्रहरी नायब निरीक्षक प्रमोद नेपालीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार लु १ क ३४८३ नम्बरको जेसीबी चालक दाङको बबई गाउँपालिका–२ निवासी ३२ वर्षीय मानबहादुर परियारले चलाइरहेका थिए । 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तारा खोलाबाट प्रहरी नायब निरीक्षक नेपालीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button